प्रकृतिको वरदान : धुम्बा ताल

प्रकाशित मिति: २९ बैशाख २०७६, आईतवार ०८:१३   सम्पादक: admin

– रामबहादुर थापा जोमसोम बजारको दक्षिणपूर्वमा एउटा झोलुङ्गे पुल छ । पुलबाट कालीगण्डकी तरेपछि बगरैबगर यात्रा अघि बढ्छ । वरिपरि निर्जन डाँडा र कन्दरा । ढुङ्गा, बालुवाबीच फूलेका भुइँफूल । केही पर भेटिन्छ, ठिनी खोला । फड्के तरेर पारि पुग्दा आइपुग्छ, सम्ले गाउँ छिर्ने प्रवेशद्वार । तलपट्टि सुसाइरहेको नदी, दन्तेलहर झैँ खुलेका हिमाल, गुम्बा, स्याउ बगान र रैथाने जनजीवन आँखामा सजाउँदै पुगिन्छ, सम्ले गाउँको सिरान । चराहरुको चिरबिर, हावाको मन्द स्पर्श र शान्त वातावरणले यात्रीको थकान बिर्साइदिन्छ । सारा दुःख र तनाव भुलेर मानिस प्रकृतिमा विचरण गर्छ । मुस्ताङ, घरपझोङ गाउँपालिका–५ स्थित धुम्बा ताललाई लक्ष्य बनाउने जो कोहीलाई प्रकृतिले यसरी नै लोभ्याउँछ । झट्ट हेर्दा कुनै विख्यात कलाकारले कुँदेको चित्र झैँ लाग्छ, धुम्बा ताल । कञ्चन तालमा हिमाल डुबुल्की मारे झैँ देखिन्छ । उस्तै मनमोहक दृश्य माछा र जलचरको । लाग्छ, ताल क्षेत्र महात्माहरुको तपस्यास्थल हो । धुम्बा ताल प्राकृतिक हिसाबले जति सुन्दर छ, त्यति नै यसको धार्मिक महत्व पनि छ । बौद्धमार्गीले तालको पानीलाई भगवान् गौतम बुद्धलाई चढाउने जलका रुपमा लिन्छन् । ताल नजीकै रहेको ऐतिहासिक कुछुप तेरेङ्गा गुम्बामा यही तालको पानी चढाउने गरिन्छ । बौद्ध धर्मावलम्बी तालछेउमा आई ध्यान र पूजाआजासमेत गर्छन् ।

ताल संरक्षण र व्यवस्थापनको काम त्यही गुम्बाले गर्दै आएको छ । तालमा नागराज देउताको बास रहेको मानिन्छ । पारिवारिक सुख, शान्ति मिल्ने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । “धुम्बा ताल हाम्रो पवित्रस्थल हो”, गुम्बाका लामा काजी थकालीले भन्नुभयो, “पछिल्लो समय यो पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।” तालमा विभिन्न प्रजातिका माछा छाडिएको भए पनि मार्न प्रतिबन्ध छ । तालमा नुहाउन, पौडी खेल्न, डुङ्गा चलाउन र छेउछाउमा वस्तुभाउ चराउन पाइँदैन । “धार्मिक आस्था जोडिएका कारणले धुम्बा तालको विशेषता फरक छ”, स्थानीयवासी कुलबहादुर थकालीले भन्नुभयो, “यो तालमा लेउ पनि लाग्दैन ।” तालको सरसफाइ, व्यवस्थापन र माछाको हेरचाहका लागि कर्मचारी खटाइएको छ । ताल घुम्ने विदेशी पर्यटकले रु २० र आन्तरिक पर्यटकले रु १० शुल्क तिर्छन् । त्यहाँ पुग्ने पर्यटकले किनारमा उभिएर, बसेर तस्बीर लिन्छन् । ताललाई पैदलै फन्को मार्छन् । आसपासको प्राकृतिक सौन्दर्यबाटपनि पर्यटक मोहित हुन्छन् । तालको पूर्वमा थोरङ्ला र निलगिरि, पश्चिममा मानामाथि, दक्षिणमा धवलागिरि र टुकुचे हिमाल देखिन्छ । उत्तरपट्टि पर्यटकीय ठिनी गाउँ पर्छ । पर्यटकलाई लक्षित गरेर बगैँचा, विश्रामस्थल, खाजाघरको व्यस्था गरिएको छ । ताल १३० मिटर चौडा, १६० मिटर लामो र १० मिटर गहिरो छ । समुन्द्री सतहदेखि दुई हजार ९०० मिटरको उचाइमा अवस्थित ताललाई ‘मुस्ताङको लुकेको हिरा’ भनेर समेत चिनिन्छ । मुटु आकारको देखिने भएकाले युवायुवतीबीच ‘हर्ट–सेप लेक’ का रुपमा पनि परिचित छ ।

मुस्ताङ सदरमुकाम जोमसोम बजारदेखि पैदल एक घण्टामा धुम्बा ताल पुग्न सकिन्छ । जीप, मोटरसाइकलबाट पनि सजिलै पुग्न सकिन्छ । धुम्बा तालबाट फर्किंदा पर्यटकीय गाउँ ठिनी हुँदै जोमसोम आउन पनि सकिन्छ । पछिल्लो समय पर्यटकको आउजाउ बढेपछि पूर्वाधार निर्माणमा स्थानीयवासीले चासो बढाएका छन् । घरपझोङ गाउँपालिकाले पनि तालमा लगानी थपेको छ । धुम्बा तालको संरक्षण र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले बताउनुभयो । “धुम्बा ताल मुस्ताङको पहिचान हो”, उहाँले भन्नुभयो, “यसलाई धार्मिक एवं पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न जरुरी छ ।” प्राकृतिक छटाले भरिएको हुँदा चलचित्र छायाङ्कनस्थलका रुपमा समेत ताल चिनिन थालेको छ । केही वर्षअघि नेपाली चलचित्र ‘जेरी’मा धुम्बा तालको दृश्य समेटिएपछि तालले प्रचार पाएको थियो । गएको जाडोयाममा ताल जमेपछि धुम्बा तालले थप चर्चा कमायो । विसं २०७२ को भूकम्पपछि तालको पानी सुक्दै गए पनि अहिले भने ताल पूर्ववत् अवस्थामा फर्केको छ । रमणीय भूबनोटमा अवस्थित धुम्बा ताललाई स्थानीयवासीले प्रकृतिको वरदान मान्छन् ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np