कतारी अस्पताल जहाँ अमेरिकाले मानव अंग बेच्छ

प्रकाशित मिति: २६ श्रावण २०७६, आईतवार १०:१६   सम्पादक: admin

अग्ला बिल्डिङको पर्याय नै हो कतारको राजधानी दोहा । तर, त्यही दोहामा एउटा सामान्य बिल्डिङ छ । न त्यो बिल्डिङ आकाश छुने अग्लो छ न इटालियन मार्बलले सजिएको छ । न त राति आकाशका तारालाई टक्कर दिने गरी चम्किन्छ ।

दोहाका गगनचुम्बी भवनको सागरमा त्यो बिल्डिङलाई कसैले यादै गर्दैन । तर, त्यो बिल्डिङ बाहिरबाट हेर्दा जति सामान्य देखिन्छ, वास्तवमा उति नै असामान्य छ । त्यो बिल्डिङ हो, एस्पेटार ।

विश्वको सबैभन्दा सुविधासम्पन्न, अत्याधुनिक र रहस्यमयी अस्पताल । एस्पेटार सामान्य अस्पताल होइन, यो स्पोर्ट्स अस्पताल हो । यहाँ खेलाडीको मात्र उपचार हुन्छ ।

अस्पतालभित्र छिरेपछि देखिन्छ, खेलाडीका ठूला र भयानक इन्जुरीको उपचारमा प्रयोग हुने ‘कटिङ एज’ उपकरण । उपचारपछिको तीव्र सुधारका लागि तयार गरिएका पूर्वाधार । अस्पतालको पोर्टफोलियो त्यहाँ भएका उपकरणभन्दा पनि उपल्लो स्तरका छन् ।

नेयमार, ह्यारी केन, एन्जेल डि मारिया, याया टुरे, मो फाराह, आमिर खान, साम वारबर्टन अनि अरू धेरै । खेलाडीको नाम उल्लेख गरेर साध्य छैन । नेयमारलाई लागेको चोटपछि प्रारम्भिक उपचारमा संलग्न चिकित्सकले उनी आफ्नै खुट्टामा हिँड्न सके त्यही ठूलो उपलब्धि हुने बताएका थिए । तर, एस्पेटारमा उपचारपछि उनले मैदानमा गएर गोलको वर्षा गरिरहेका छन् ।

एन्जेल डि मारियाबारे पनि चिकित्सकको उस्तै धारणा थियो । तर, उनै डि मारियाले शनिबार रेन्नेसविरुद्ध फ्रि–किकमा सानदार गोल गर्दै पीएसजीलाई लगातार सातौंपटक सुपर कप जिताए । अन्य पद्धतिले असम्भव भनेको उपचार कसरी सम्भव बनाउँछ त एस्पेटारले ? दोहाका अग्ला बिल्डिङको भीडमा लुकेको होचो बिल्डिङभित्र कसरी हुन्छ चमत्कार ?

एस्पेटार २००७ मा सुरु भएको थियो । स्थापनाको १२ वर्ष पुगिसक्दा एस्पेटारसँग सुनाउनका लागि संघर्षका कथा छैनन्, केवल सफलताका कथा छन् । एस्पेटार एउटा लक्ष्य लिएर सुरु भएको थियो– खेलाडीको उपचारमा बेताज बादशाह बन्नु । त्यो हासिल गर्न उसलाई धेरै समय लागेन । कसैले उसलाई चुनौती पनि दिन सकेका छैनन् ।

एस्पेटारले आफूलाई चाहिने उपकरण आफैं बनाउँछ त्यसैले त्यहाँ भएका उपकरण अरु कुनै अस्पतालमा छैनन् । अस्पतालमा भएको अपरेसन गर्ने टेबल र बेडसमेत चिकित्सक आफैंले डिजाइन गरेका हुन् ।

एस्पेटारले खेलकुद विज्ञानका विख्यात विज्ञहरू बटुलेर आफ्नो टिम बनाएको थियो । एस्पेटारले नवीनतम प्रविधिको प्रयोग मात्र गरेन, आविष्कार पनि गर्‍यो । सुरुवातबाटै एस्पेटारले विशेषज्ञको टोलीलाई अत्याधिक प्रविधि र उपकरणले सुसज्जित गरेको थियो । त्यस्ता उपकरण  अरु अस्पतालमा छैनन् । जस्तै : एन्टी–ग्रभिटी ट्रेडमिल ।

सन् १९९० मा नासाले यसको आविष्कार गरेको थियो । नासाले गुरुत्वाकर्षणविहीन अन्तरिक्ष यानमा काम गर्न अन्तरिक्षयात्रीलाई सहज होस् भनी पृथ्वीमै त्यसको तयारी गर्न यो उपकरण बनाएकोे थियो । एस्पेटारले यो मेसिन ल्याएर चोटग्रस्त खेलाडीलाई व्यायाम गराउन थाल्यो ।

यो मेसिनले कुनै पनि व्यक्तिको ९० प्रतिशत तौल धान्छ । जसले खेलाडीलाई घुँडालगायत खुट्टाको जुनसुकै भागमा चोट लागे पनि नदुखाइ व्यायाम गर्न सहज बनाउँछ । यसले खेलाडीलाई फिट रहन मद्दत गर्छ भने चोट छिट्टै निको गर्न पनि सहयोग गर्छ । सामान्य ट्रेडमिलमा व्यायाम गर्दा सबैभन्दा बढी बल खुट्टामा पर्ने हुनाले खेलाडी सधैं सुतेर बस्नुपर्छ । यसकारण, चोट ठीक हुन पनि बढी समय लाग्छ ।

अस्पतालको अर्को कोठा मार्भल र पिक्सारलगायत हलिउडका महँगा फिल्म एनिमेसन गर्ने सीजीआई स्टुडियोजस्तो देखिन्छ । त्यो कोठामा खेलाडीहरू शरीरभरि थुप्रै गोलाकार चिह्न र तार लगाएर शारीरिक बल पर्ने काम गरिरहेका देखिन्छन् ।

त्यसको मद्दतले डाक्टरहरू कम्प्युटरमा खेलाडीको मांसपेशीको थ्रीडी ग्राफिक्स बनाइरहेका हुन्छन् । थ्रीडी ग्राफिक्समा मांसपेशीको तन्काइ, खुम्चाइ, सुदृढतालगायत सुधारका हरेक पक्ष रेकर्ड र सेभ भइरहेका छन् ।

यस्ता ग्राफिक्सले भविष्यमा हुन सक्ने थप इन्जुरी आँकलन गर्नदेखि त्यस्ता अवस्थामा गर्न सकिने उपचारको अग्रिम डाटा ब्याकअप र डाटा एनलाइसिस गर्न पनि सहयोग गर्छन् ।

त्यति मात्र होइन, चोट लाग्नुअघि चोट लागेको स्थान र आसपासका जोइन्टको चाल कस्तो थियो भनेर पनि थाहा हुन्छ । यसले चोटग्रस्त क्षेत्रमा पुगेको क्षति आँकलन गर्दै चोटको पूर्ण उपचारमा महत्त्वूर्ण भूमिका खेल्छ ।

चोटग्रस्त खेलाडीलाई मात्र होइन, अनुबन्ध गर्न लागिएको नयाँ खेलाडीको स्वास्थ्य परीक्षणका लागि पनि एस्पेटार पठाउने क्रम बढ्दो छ । एस्पेटारले त्यस्ता खेलाडीको थ्रीडी प्रविधिबाट मांसपेशी र जोइन्टको जाँच गरेर पुराना चोटले भविष्यमा पुर्‍याउन सक्ने असर र नयाँ चोट लाग्न सक्ने सम्भावनालाई डाटा एनलाइसिसमार्फत अध्ययन गरेर ‘क्लियरेन्स सर्टिफिकेट’ दिने गरेको छ ।

यस्तो गर्नेमा फ्रेन्च च्याम्पियन पीएसजी सबैभन्दा अगाडि छ । विश्वका दुई महँगा खेलाडी नेयमार र एम्बाप्पेलाई अनुबन्ध गर्नुअघि पनि पीएसजीले एस्पेटारमा उनीहरूकाे स्वास्थ्य परीक्षण गराएको थियो ।

यसका साथै एस्पेटारमा खेलाडीको शरीरले विभिन्न भौगोलिक उचाइमा कस्तो प्रतिक्रिया दिन्छ र त्यसले प्रदर्शनमा कति प्रभाव पार्छ भनेर पनि जाँच गर्ने प्रविधि छ ।

एस्पेटारमा उचाइले प्रदर्शनमा पार्न सक्ने प्रभाव जाँच्न २५ वटा कोठा छन् । ती कोठामा समुद्री सतहबाट ५ सय मिटरको उचाइदेखि ४५ सय मिटरसम्मको कृत्रिम वातावरण र वायुमण्डल छन् ।

‘एस्पेटार आउनुअघिसम्म मैले कल्पना समेत गरेको थिइनँ कि एउटै घरको बन्द कोठाभित्र अल्टिच्युड परिवर्तन गर्न सम्भव हुन्छ,’ पीएसजीका अर्जेन्टाइन मिडफिल्डर डि मारियाले एक अन्र्तवार्तामा भनेका थिए ।

ती कोठामा अक्सिजन फिल्ट्रेसन सिस्टमबाट समुद्री सतहबाट फरक–फरक उचाइमा हुने वायुमण्डल तयार गरिन्छ । उचाइअनुसार पृथ्वीको वायुमण्डलमा अक्सिजनको घनत्व जति हुन्छ, ती कोठामा पनि त्यस्तै वातावरण तयार गरिएको हुन्छ । एस्पेटारका त्यस्ता कोठालाई ‘अल्टिच्युड पभेलियन’ भनिन्छ ।

ती कोठामा शरीरले देखाउने प्रतिक्रिया नाप्न अत्याधुनिक मेसिन जडान गरिएका छन् । ती मेसिनले खेलाडी सक्रिय रहँदा र आराम गर्दा फरक–फरक उचाइमा मुटुको धड्कन र रक्तचापमा कस्तो परिवर्तन आउँछ र त्यसले के प्रभाव पार्छ भनेर जाँच्छन् ।

यसका साथै ‘अल्टिच्युड पभेलियन’ शरीरलाई कृत्रिम प्रभावमा रातो रक्तकोष (आरबीसी)को उत्पादन बढाउन पनि प्रयोग हुन्छ । उपचारपछि शरीरलाई विभिन्न भौगोलिक वातावरणमा रहेको महसुस गराउँदै तीव्र सुधार गर्न पनि यो प्रविधि उपयोगी साबित छ ।

‘खेलाडीले २–३ दिनसम्म यस्ता कोठामा टिभी हेर्दै, मोबाइल चलाउँदै वा गेम खेल्दै शारीरिक कसरत नगरी निष्क्रिय रहेर बिताउँछन् । यस्ता कोठामा रहँदा खेलाडीको शरीरमा २४सै घण्टा इलेक्ट्रोड जडान गरिएको हुन्छ । त्यस्ता इलेक्ट्रोडले हरघडी खेलाडीको शरीरमा आउने परिवर्तन अध्ययन र विश्लेषण गर्न मेसिनमा डाटा पठाउँछन्,’ एस्पेटारका एक अधिकारीले भने ।

सुरुवाती चरणमा रहस्यमयी रहेको एस्पेटार पछिल्लो समय भने क्रमशः सार्वजनिक रुपमा खुल्दै आएको छ । सो क्रममा एस्पेटारले ‘भिजिटिङ सर्जन प्रोग्राम’ सञ्चालन गरेको छ ।

यस कार्यक्रममा चिकित्साशास्त्रमा स्नातकोत्तर गरिरहेका डाक्टरले एस्पेटारका विशेषज्ञ चिकित्सकको निगरानीमा त्यहाँको चिकित्सा पद्धति जान्न र सिक्न पाउँछन् ।

तर, सिकेर मात्र डाक्टर बन्न सकिँदैन । यसका लागि निरन्तर अभ्यास चाहिन्छ । आवश्यक अभ्यासका लागि एस्पेटारले २०१६ मा विश्वकै पहिलो ‘स्पोर्ट्स सर्जरी ट्रेनिङ सेन्टर’ सुरु गरेको थियो । यहाँ खेलाडीको उपचार होइन, शल्यक्रिया गर्न अभ्यास गराइन्छ ।

तर, नक्कली अंगमा अभ्यास गरेर सक्कली चोटको प्रभावकारी उपचार गर्न सम्भव हुँदैन । कम्तीमा एस्पेटारको स्तरको अचुक शल्यक्रिया गर्न सकिँदैन । त्यसमाथि आफ्ना सिकारु डाक्टरलाई सुपरस्टार खेलाडी प्रयोग गर्न दिने कुरो पनि आएन । यो समस्याको समाधान गर्न एस्पेटारले नयाँ तरिका अपनायो– मानव अंगको आयात ।

अहिले एस्पेटारमा शल्यक्रियाको ट्रेनिङ गर्नेहरू वास्तविक मानव अंगमाथि प्रयोगशालामा प्रयोग गर्छन् । यो आयात सहज छैन । यो एकदमै झन्झटिलो संयन्त्रबाट सम्भव भएको हो । हरेक आयात प्रक्रियामा सयौं ब्युरोक्रेटले ६ विभिन्न मन्त्रालयबीच समन्वय गर्दै मानव अंग एस्पेटारसम्म पु¥याउँछन् ।

मुख्यतः अमेरिकाबाट आयात गरिने मानव अंगमा काँध, घुँडा, कुर्कुच्चो, गोलीगाँठो र कम्मरदेखि गर्धनबीचको भाग बढी ल्याइन्छ । एस्पेटारको गोदामका फ्रिजर मानव अंगले भरिएका छन् ।

सिकारु मात्र नभएर नयाँ किसिमको चोट देखापरेमा अनुभवी सर्जन पनि तिनै मानव अंगमाथि प्रयोगशालमा प्रयोग गर्छन् । नेयमारको असम्भव भनिएको उपचार यसै सम्भव भएको होइन ।

एस्पेटारको सुधार गृह पनि उत्प्रेरक छ । रिकभरीका लागि स्विमिङ पुलमा पानीमुनि व्यायाम गरिरहेको फुटबलरको छेउमा स्की खेलाडी विभिन्न स्लोपमा आफूलाई जाँचिरहेको हुन्छ । त्यहीँ छेउमा अर्को बास्केटबल खेलाडी आफ्नो जम्प प्राक्टिस गरिरहेको हुन्छ ।

‘इन्जुरीले खेलाडीको शरीरमा मात्र होइन, मानसिकतामा पनि आघात पुर्‍याएको हुन्छ । हामीले शरीरको चोटको त उपचार गर्छौं । तर, छिट्टै रिकभरी हुन खेलाडी मानसिक रुपमा पनि तयार हुनुपर्छ । यसका लागि हामीले सुधार गृहमा विशेष वातावरण बनाएका छौं । त्यहाँ भित्ता छैनन्, धमिला सिसा छन् । लामो समय आराम गर्दा खेलाडीको फर्म खस्किने डर हुन्छ ।

त्यसका लागि हामीले अन्डरवाटर एक्सरसाइज, मसाजलगायतका सुविधा दिएका छौं । विभिन्न खेलका खेलाडी सँगसँगै प्राक्टिस र परीक्षण गर्न पाउँछन् । एकअर्काको पीडा देख्छन्, बुझ्छन् र त्यो सामीप्यताले उनीहरूको आत्मबल बढ्छ, छिटो रिकभरी पनि हुन्छ,’ पूर्व एनबीए बास्केटबल खेलाडी तथा एस्पेटारका व्यायाम प्रशिक्षक ब्यारी ह्वाइटले बताएका छन् ।

सुधार गृह अर्धगोलाकार डिजाइनको छ । सबै खेलाडी एकअर्काको सफलता र सुधारको साक्षीजस्तै हुन्छन् त्यहाँ । दुई कोठाबीच सिसाले मात्र छेकेको छ भने भुइँ, सिलिङदेखि त्यहाँ भएका बोटबिरुवासमेत सेतो रंगका छन् । ध्यान केन्द्रित गर्न सहज होस् भनेर आर्किटेक्टले त्यस्तो डिजाइन र इन्टेरियर गरेका हुन् ।

‘अधिकांश अस्पतालका आराम कक्ष र सुधार गृह जिमखानाजस्ता हुन्छन् । एस्पेटारमा त्यस्तो छैन । यहाँको वातावरण विशेष छ त्यसैले त अपेक्षाभन्दा छिट्टै ठीक भएर खेलाडी मैदान फर्किन्छन्,’ ह्वाइट बताउँछन् ।

एस्पेटार चोटको उपचार र सम्भावित चोटको रोकथामका कारण मात्र भने विशेष भएको होइन । एस्पेटारको बलियो पक्ष हो अनुसन्धान । २००७ मा स्थापना भएयता एस्पेटारले अनुसन्धान र उपचारको विश्लेषण गर्दै हरेक वर्ष १५० भन्दा बढी शोधपत्र प्रकाशित गर्ने गरेको छ । हरेक वर्ष सेमिनार र वर्कसपका माध्यमबाट खेलाडीको उपचारका नयाँ आयाम प्रकाशमा ल्याउँछ ।

त्यस्ता शोधपत्र तथा तिनका प्रयोग र निष्कर्षलाई सूक्ष्म अध्ययन गरेर एस्पेटारले विभिन्न चोटका सटिक उपचार विधि पनि पहिल्याइरहेको हुन्छ । दाँतमा लाग्ने चोटदेखि जाँघमा लाग्ने संवेदनशील चोटसम्मका लागि एस्पेटारमा विशेषज्ञ फाँट छन् ।

‘एस्पेटारमा जुन स्तरको उपचार हुन्छ, त्यो युरोप वा अमेरिका कहीँ पनि हुँदैन । व्यावसायिक खेलाडीले चोटग्रस्त भएका बेला जे चाहन्छ, त्यो सबै एस्पेटारमा पाइन्छ,’ गम्भीर चोट पनि एस्पेटारमा उपचार गराएका म्यानचेस्टर सिटीका पूर्वमिडफिल्डर याया टुरेले भने ।

खुट्टामा चोट लागेपछि फिलाडेल्फिया सेभेन्टिसिक्सर्सबाट एनबीए खेल्ने जोएल एम्बिडले पनि एस्पेटारमै उपचार गराएका थिए । इंग्ल्यान्ड तथा टोटनह्याम हटस्पर्सका कप्तान ह्यारी केनको पनि यहीँ उपचार भएको थियो । यहाँ उपचार गराएर फर्किएका केनले गत सिजन ईपीएलको गोल्डेन बुट नै जितेका थिए ।

केन मात्र होइन, टोटेनह्यामको पुरै टिम, अल्जेरियाको राष्ट्रिय फुटबल टिमलगायत हरेक वर्ष अन्य थुप्रै खेलका ३५ हजारभन्दा बढी खेलाडी एस्पेटारमा उपचार गराउन आउँछन् ।

खेलाडीको उपचारमा पुर्‍याएको अतुलनीय योगदानका लागि एस्पेटारले सन् २०१४ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी रिसर्च सेन्टरबाट इन्जुरीको उपचार तथा रोकथामका लागि अग्रणी संस्थाको सम्मान पाएको थियो । फिफाले त १० वर्षअघि नै ‘मेडिकल सेन्टर अफ एक्सिलेन्स’बाट एस्पेटारलाई सम्मानित गरिसकेको छ ।

तर, एस्पेटारले कहिल्यै विज्ञापनमा विश्वास गरेन । जति पनि प्रचार भयो, ‘वर्ड अफ माउथ’बाटै भएको हो । एकपटक एस्पेटारमा उपचार गराएर फर्किएको खेलाडी फेरि अन्त गएनन् ।

आफ्ना साथीलाई पनि अन्त जान दिएनन् त्यसैले त अहिले पनि यरोपमा कुनै फुटबल खेलाडी वा अमेरिकामा कुनै बास्केटबल खेलाडी घाइते भयो भने एउटा हेली एम्बुलेन्स उड्छ र दोहाको सानो घरमा गएर ल्यान्ड हुन्छ ।

तपाईको प्रतिक्रिया

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने.....

प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने.....

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी.....

वेलिङ्टन, न्यूजील्याण्ड (रासस-एपी) – प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध.....

शेन्जेन, ३१ भदौ (रासस-एपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी.....

सियोल, ३१ भदौ (रासस-एएफपी) : दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका स्वास्थ्य.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np